१८ साउन – विवाहको केही समयपछि नै श्रीमानमाथि गोली प्रहार गर्ने अमेरिकाको टेनिसी राज्यकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षकी केट एलिजाबेथ प्रिचार्डलाई विवाह पहिरनमै प्रहरीले टेनिसी राज्यको मरफ्रेसबोरोमा रहेको एक मोटेलबाट पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
प्रिचार्डले सोमबार विवाह लगतै श्रीमानको टाउकोमा ९ एमएमको पेस्तोल राखेर ट्रिगर दबाएकी थिइन् । तर पेस्तोलमा गोली भरिएको थिएन । प्रिचर्डाले पछि पेस्तोलमा गोली भरेर हवाई फायर गरेकी थिइन् । त्यसपछि विवाह स्थलमा भागदौड मच्चिएको थियो ।नवविवाहित जोडीले रक्सी खाएको र त्यसपछि झगडा गर्न थालेको प्रहरीले जनाएको छ । त्यसपछि दुलहीले दुलहाको टाउकोमा पेस्तोल राखेर पड्काएकी थिइन् । तर गोली नभरिएको पेस्तोल हुनाले दुलहालाई केही भएन । प्रिचार्डले आफ्नो विवाह पहिरनमै पेस्तोल लुकाएकी थिइन् । घटनापछि उनले आफूले चलाएको बन्दुक मोटेलको बाथरुममा लुकाउने प्रयास गरेकी थिइन् ।