८ साउन, काठमाडौँ – कांग्रेस दोस्रो स्थानमा खुम्चिनुलाई पार्टीभित्रका नेताहरूले ‘नेतृत्वको रणनीतिक असफलता’ ठहर स्थानीय तहको चुनावमा गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले नेतृत्वलाई दोषी ठहर्याएका हुन् ।
चार महिनापछि शनिबार सुरु पार्टी बैठकमा नेताहरूले असोज २ मा हुने प्रदेश २ को चुनाव, त्यसलगत्तै हुने प्रदेश र संघीय संसद्को चुनावमा यस्तै गल्ती नदोहोर्याउन सचेत गराउँदै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी रणनीति बलियो बनाउन र अलोकप्रिय निर्णय नलिन ध्यानाकर्षण गराएका छन्। चुनावको मुखमा नेतृत्व तहबाट भएका अलोकप्रिय निर्णय, समयमा उम्मेदवार चयन गर्न नसक्नु, पहुँच र गुटप्रतिको बफादारिताका आधारमा टिकट वितरण गर्नु, विपक्षीका आरोपलाई प्रभावकारी माध्यमबाट खण्डन गर्न नसक्नुजस्ता कारणले रणनीतिक रूपमा पार्टी नेतृत्व कमजोर देखिँदा हार व्यहोर्नुपरेको उनीहरूले बताएका छन ।