१ साउन, दोलखा – रामेछापको खिम्ती र फर्पुको सीमानामा रहेको बस्तीमा गएरातिको अविरल वर्षाले बाढी पस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। बाढीले बगाएर मृत्यु भएकी लिखु गाउँपालिका वडा नम्बर ७ खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव भेटिएको छ भने अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जानकारी दिए।
यस्तै ६ जना घाइते भएका छन्। उनीहरुको उद्धारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ। बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल र २ घर समेत बगाएको छ। शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा भारी वर्षा भएको थियो। स्थानीयका अनुसार खिम्ती बजारमा रहेको खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ। बजारमा पार्किङ गरेका सवारी साधन पनि बाढीले क्षति पुर्याएको छ। बाढीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि आइतबार बिहान प्रहरी पुगेको जनाएको छ। यता प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए।