२६ असार, बाँके – बाँकेमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमाले र संघीय समाजवादी फोरम, नेपालबीच तालमेल भएको छ। दुई दलले डुडुवा र जानकी गाउँपालिकामा समेत सहकार्य गर्ने सहमति गरेका छन्। शक्ति सन्तुलनका आधारमा जिल्ला समन्वय समितिमा प्रमुखसहित ६ सदस्य एमाले तथा उपप्रमुखसहित एक पुरुष र एक महिला सदस्य फोरमले लिने सहमति भएको एमाले बाँकेका अध्यक्ष अशोक कोइराला र संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्दिन राईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। डुडुवा गाउँपालिकामा एमालेले निर्वाचित मध्येबाट १ तथा फोरमले निर्वाचित तथा मनोनितबाट एक–एक सदस्य पाउने भएका छन्। यस्तै जानकी गाउँपालिकामा फोरम नेपाललाई निर्वाचितबाट १ र बाँकी एमालेले लिने सहमति भएको अध्यक्ष कोइरालाले जानकारी दिए। फोरमले मनोनित सदस्यलाई जिससमा पठाएपछि रिक्त हुने पदमा भने एमालेले मनोनित गर्न पाउने सहमति भएको छ। यसको बदलामा फोरमले मागेको ठाउँमा एक सदस्य एमालेले दिने सहमति पनि भएको छ।