१३ असार, नवलपरासी – दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तह लक्षित गरी उच्च सतर्कता अपनाइएको छ ।
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीय प्रशासनले निर्वाचन हुन लागेको क्षेत्रमा उच्च सतर्कता अपनाएको हो । सुरक्षा निकायले नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं ५ मा पर्ने सात स्थानीय तहमा कुल ७० वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्र तोकेर सुरक्षा रणनीति अघि सारेको छ ।
सत्तरीवटै अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । अतिसंवेदनशील क्षेत्रका लागि आवश्यक परेमा हेलिकप्टरबाट गस्ती गर्ने र विशेष सुरक्षा योजना प्रबन्धको व्यवस्था मिलाइएको रानाले जानकारी दिए ।अतिसंवेदनशील मानिएका ती मतदानस्थलको भित्री सुरक्षाका लागि प्रहरी निरीक्षक वा सईको कमाण्डमा सातजनादेखि ११ जना प्रहरी र त्यति नै सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिने तयारी छ ।बाहिरी घेरमा सशस्त्र प्रहरी परिचालन गरिनेछ । मतदानस्थलबाट केही टाढा नेपाली सेनाको टोलीलाई रहेन व्यवस्था मिलाइएको छ ।सुरक्षाकर्मीको विशेष टोलीसहितको हेलिकप्टर बुटवलमा तैयारी अवस्थामा राखिएको छ भने आवश्यकताअनुसार जुनसुकै समयमा पनि सुरक्षाको दृष्टिकोणले प्रयोग गर्न सकिने गरी तयारी हालतमा राखिएको छ । नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन लागेका सातवटा स्थानीय तहमा २४० मतदान केन्द्रका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेना गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन भएका छन् ।