Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

भारतसँगको सीमा ७२ घण्टा बन्द

Tuesday, June 27, 2017 National Power

१३ असार, काठमाडौं – स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सोमबारदेखि भारतसंग सीमा जोडिएको नाकामा आवतजावत बन्द गरिएको छ ।

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर झुलाघाट सीमा नाकामा आवतजावत बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । भारतसँग सीमा जोडिएको नाकाबाट चुनावी सुरक्षालाई प्रभाव पार्न सक्ने गतिविधि हुनसक्ने भन्दै सीमानाका बन्द गरिएको हो । सोमबारदेखि असार १५ गते बिहीबार बिहान ७ बजेसम्म सीमानाका बन्द रहनेछ ।

निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ । भारतसँग सीमा जोडिएका पूर्वका पशुपतिनगर, छब्बिसे, हिले, मानेभञ्ज्याङलगायतका एकदर्जन भन्दा बढी नाका बन्द गरिएको हो । निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनैपनि अप्रिय घटना नहोस् र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न सीमा नाका बन्द गरिएको सुरक्षा समितिका संयोजक प्रजिअ जनकराज दाहालले बताए ।

दाहालका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष उद्देश्यले सुरक्षा रणनीति पनि तयार पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायत घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।

यस्तै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा सर्वपक्षीय बैठक बसेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोगले खटाएको अनुगमन समितिका संयोजक, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा चुनावको सुरक्षा व्यवस्था पूर्ण तयार भएको जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यस्तै, मौन अवधि शुरु भएकाले मौन अवधिको पूर्ण पालनाका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

मतदान सम्पन्न भइसकेपछि केही स्थानका मतपेटिकाहरु हेलिकोप्टरबाट ढुवानी गर्ने अवस्था आएमा हेलिकोप्टरमा एजेण्टहरुका लागि ठाउँ नहुने भएकाले एजेण्टबिना हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।