Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दोस्रो चरणको चुनावमा मौन अवधि सुरु, आज पनि परिचयपत्र वितरण

Monday, June 26, 2017 National Power

१२ असार, काठमाडौं – यही असार १४ मा हुन गइरहेको तीनवटा प्रदेशको चुनावका लागि मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेदेखि सुरु मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार लगायत मतदातालाई प्रभावमा पार्ने कुनैपनि काम गर्न पाउँदैनन् ।

यो अवधिमा एसएमएस फेसबुक ट्वीटर लगायत सामाजिक संजालमा पनि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ । चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ वटै स्थानीय तहमा मौन अवधिमा गर्न नपाइने काम गरे नगरेको बारे अनुुगमन हुने निर्वाचन आयोगले जनाएको छ । अनुगमनमा उल्लंघन भएको भेटिए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी नै रद्द समेत हुनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कानुन उल्लंघन भए नभएको बारे मतदाताले पनि ध्यान दिनुपर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मौन अवधि सुरु भएपछि मतदानस्थलको तीन सय मिटर वरपर रहेका प्रचार सामाग्री हटाउनुपर्ने व्यवस्था छ । यसैबिच चुनावका लागि सोमबार पनि मतदाता परिचयपत्र वितरण पनि सुरु भएको छ । आउँदो बुधबार हुने चुनावका लागि सम्बन्धित मतदान केन्द्रबाट आइतबारदेखि परिचयपत्र वितरण सुरु भएको हो ।आफूले मतदान गर्ने केन्द्रमा आफ्नो परिचय खुल्ने सरकारी कागजात लिएर परिचयपत्र लिन सकिने आयोगले जनाएको छ । परिचयपत्रका लागि मतदाता आफै निर्वाचन केन्द्रमा जानुपर्ने तर हिँडडुल गर्न नसक्ने बृद्धबृद्धा, सुत्केरी अपांगता भएका व्यक्ति लगायतको परिचय पत्र भने एकै घरका ब्यक्तिले लिन सक्नेछन् । आयोगका प्रवक्ता शर्माका अनुसार परिचय वितरणसँगै केन्द्रमा मतदातालाई मतदान गर्ने सही तरिका पनि सिकाइँदै छ