९ असार, खोटाङ – असार १४ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि खोटाङका मतदान केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको एकसय ३६ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा बिहीबारदेीख मतपेटिका पठाउन सुरु गरिएको खोटाङका जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । प्रति मतदान केन्द्र एक वटाका दरले मतपेटिका पठाउन थालिएको हो ।
चुनावका लागि विभिन्न गाउँपालिकामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा ११ सय र एकहजार एकसय ५० मतपत्र अट्ने मतपेटिका पठाउन थालिएको छ । शनिबारसम्ममा सबै मतदान केन्द्रमा मतपेटिकासहितका कर्मचारी पुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।