Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

केपी ओली र प्रचण्ड भोट माग्न बिराटनगर आउने,नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा

Friday, June 23, 2017 National Power

९ असार, बिराटनगर – दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्द्रित हुने भएका छन् ।

चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टीका अध्यक्ष बिराटनगर आउने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले अर्को संयुक्त सभालाई सम्वोधन गर्नेछन् ।

नेकपा एमालेका एक नम्वर प्रदेश सदस्य महेश रेग्मीका अनुसार एमाले र फोरम लोकतान्त्रिकले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई दुवै पार्टीका केपी शर्मा ओली र विजयकुमार गच्छदारले सम्वोधन गर्ने कार्यक्रम छ । एमाले र लोकतान्त्रिक फोरमको चुनावी सभा विराटनगरको गुद्रीमा शनिबार दिउँसो ३ बजेलाई तय गरिएको छ ।

त्यसैगरी माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले संयुक्त रुपमा आयोजित चुनावी सभालाई दुबै पार्टीका अध्यक्षद्वय प्रचण्ड र उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम छ ।बिराटनगरको हाटखोलामा आयोजित चुनावी सभालाई नेताद्वयले शनिबार दिउँसो २ बजे सम्वोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका मोरङ जिल्ला अध्यक्ष गोपी आछामीले जानकारी दिए ।

असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा बिराटनगर महानगरपालिकामा एमाले र फोरम लोकतान्त्रिकले तालमेल गरेका छन् । एमालेका विनोद ढकाल मेयरमा र लोकतान्त्रिकबाट सुची चौधरी उपमेयरमा उठेका छन् । त्यस्तै माओवादी केन्द्र र संघीय फोरमले पनि आपसी तालमेल गरेका छन् । मेयरमा फोरमका तर्फबाट उमेश यादव र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने उठेका छन् ।

नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ । कांग्रेसका केन्द्रीय नेताहरु एक सातादेखि नै बिराटनगरमा छन् । डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचार्य, डा।डिला संग्रौला, अमृत अर्याल र भुटनी देवी खवास लगायतका कांग्रेस नेताहरु चुनावी दौडाहामा छन् ।कांग्रेसका केन्द्रीय नेताहरुको गृहनगर समेत बिराटनगर भएकाले पनि उनीहरु चुनावी दौडाहामा सलग्न भएका हुन् । डा.कोइराला, नेता रिजाल र महेश अर्चायले संविधान सभाको चुनाव लडेको क्षेत्र नम्वर ५, ६ र ७ पनि बिराटनगर महानगारपालिका भित्रै पर्छ । कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उठाएको छ ।