Saturday 10th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट राई वडा सदस्यमा लड्दै

Thursday, June 22, 2017 National Power



८ असार, खोटाङ – स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् ।

यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको चिन्ह हातले समाएको मसालबाट लड्नुपर्ने हो तर उनी नेपाली काँग्रेसको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् ।अहिले चुनावी घरदैलोमा व्यस्त गजेन्द्रले हातले समातेको मसालमा भोट मागिरहेका छैनन्, काँग्रेसको चुनाव चिह्न रूख देखाएर आफ्ना लागि भोट मागिरहेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट सोही वडाको सदस्यमा उठेकी क्रान्ति श्रेष्ठ र जयन्ती दर्जी पनि काँग्रेसकै चुनाव चिह्न देखाएर आफ्नो लागि भोट मागिरहेका छन् ।

रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले चुनावी तालमेल गरेका छन् । निर्वाचनमा गरिएको चुनावी तालमेलका कारण उनीहरु एउटा पार्टीका भए पनि अर्को पार्टीको चुनाव चिह्न लिएर चुनावमा होमिएका हुन् । चार पार्टी बीचको तालमेलपछि उनीहरुले काँग्रेसका गोपालसिं राईलाई वडाध्यक्षको साझा उम्मेदवार बनाएका छन् । पहिलो चरणको निर्वाचनमा चुनावी तालमेल गरेपनि कतिपय ठाउँमा आ–आफ्नै चुनाव चिह्नबाट लड्दा मत बिग्रेको र हार बेहोर्नु परेको देखिएकाले एउटै चुनाव चिह्नबाट लड्ने निर्णय गरिएको गजेन्द्रले बताए । तालमेलका क्रममा काँग्रेसलाई वडाध्यक्ष र एक सदस्य, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई एक सदस्य तथा माओवादी केन्द्रलाई दुई सदस्य बाँडिएको छ । सो वडामा एमालेका लीला चौहान एक्लै तालमेलको सामना गर्दैछन् ।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–७ मा पनि सङ्घीय समाजवादी फोरमले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्दैछन् । चुनावी तालमेलका क्रममा माओवादी केन्द्रका हरिप्रसाद चौलागार्इंलाई वडाध्यक्ष र कृष्ण थापालाई सदस्य, सङ्घीय समाजवादी फोरमका तर्फबाट टीकाराम राई, इन्द्रकुमारी राई र सोमायाँ सुनारलाई वडा सदस्यको उम्मेदवार बनाइएको छ । उक्त वडामा काँग्रेसले महन्त राई र एमालेले दिलचक्र राईलाई वडाध्यक्षमा उठाएको छ । काँग्रेस र एमाले भने एक्ला–एक्लै चुनावी मैदानमा उत्रिएका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल भए पनि आ–आफ्नै चुनाव चिह्नबाट लड्दैछन् । पाथेकामा चार सदस्य माओवादी केन्द्रलाई दिएर अध्यक्ष लिएर तालमेल गरिएको सङ्घीय समाजवादी फोरम खोटाङका अध्यक्ष नवीन राईले बताए ।