७ असार, चितवन – चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका ६ चारकिलोमा बुधबार विहान खसेको पहिरोका कारण सडक अबरुद्ध भएको छ। गएराति खसेको पहिरोका कारण विहान चार बजेपछि यातायात पूर्ण रुपमा बन्द भएको प्रहरीले जानकारी दिए। बिहानदेखि डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरीले जानकारी दिए। बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको छ। पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौं तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ। दुई दिन अघिपनि यहाँको कालिखोलामा पहिरो खस्दा ८ घण्टा सवारी बन्द हुन पुगेको थियो। मुग्लिन सडक विस्तारको क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ।