१ असार, काठमाडौं – २ नम्बर प्रदेशको चुनाव अनिश्चित बनेको छ । सरकारले निर्वाचन आयोगसँग छलफल गरेर अर्को मिति प्रस्ताव गरेको छ । सत्तारुढ दलले निर्वाचन आयोगसँग दिउँसो ३ बजे छलफल गर्दैछ ।
कांग्रेस, माओवादी केन्द्र र राजपा नेपालको बैठकले २ नम्बर प्रदेशको चुनाव अर्को मिति तय गर्ने र बाँकी रहेका तीन वटा प्रदेशमा पनि भोलि हुने मनोनयनको समय थप गर्नका लागि निर्वाचन आयोगसँग आग्रह गर्ने निर्णय गरेको माओवादी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।“२ नम्बर प्रदेशको चुनाव १४ गते नहुने तर अन्य प्रदेशको १४ गते नै गर्ने भन्ने भएको छ,” उनले भनिन्, “अन्य तीनवटा प्रदेशमा पनि भोलिका लागि तय गरिएको मनोनयनको समय सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय भएको छ ।”बैठकबाट बाहिरिएका गृह मन्त्री जनार्दन शर्माले पनि १, ५ र ७ नम्बर प्रदेशमा १४ गते नै निर्वाचन हुने भए पनि २ नम्बर प्रदेशको बारेमा निर्णय नभएको बताए । उनले २ नम्बर प्रदेशमा के गर्ने भन्ने बारेमा छलफल भैरहेको बताए ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भने राजपालाई पनि कसरी चुनावमा ल्याउने भन्ने बारेमा छलफल भएको बताए ।उनले राजपालाई पनि निर्वाचनमा सहभागी गराउने केही उपाय निकाल्ने प्रयास भैरहेको पनि जानकारी दिए ।