२० जेठ, काठमाडौं – निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको केन्द्रको पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमाले स्तब्ध भएको एमाले सचिव गोकर्ण विष्टले बताए ।
‘भरतपुरमा पुनः मतदान हुने निर्णयले एमाले स्तब्ध भएको छ, आयोगले कानुन उल्लंघन गरेको छ’ उनले भने । देश संकटमा फस्ने र मुठभेट निम्तने तर्फ उनले सचेत गराए । एमालेले सडक र सदनमा आन्दोलन चर्काउने बताए ।
मतगणना भइरहँदा भरतपुरको वडा नम्बर १९ मा मतपत्र च्यातिएको थियो । मतगणनास्थल कब्जा भएको पुष्टी भएकाले कानुनअनुसार पुनः मतदान गर्ने निर्णय भएको हो । भरतपुर महानगरपालिकामा भएको घटनाको सत्यतथ्य छानविन गरि पुनः मतदान या मतगणनाको बारेमा निर्णय गर्न आयोगले सहन्याधिवक्ता गिता प्रसाद तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समितीले दिएको प्रतिवेदनका आधारमा आयोगले वडा नम्बर १९ को मतपत्र क्षति पुगेको केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
प्रतिवेदनमा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएकोले १९ नम्बर वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने उल्लेख छ । नियतवस मतपत्र च्यातिएको भन्दै एमालले पुनः मतगणना गर्न माग गरेको थियो भने एमालेकै संलग्नामा मतपत्र च्यातिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेका थिए । अब चितवनका मुख्य निर्वाचन अधिकृतले नयाँ मिति घोषणा गरेपछि त्यहाँ मतदान हुनेछ ।