२० जेठ, काठमाडौं – नयाँ प्रधानमन्त्री चयनका लागि आज शनिबार उम्मेदवारी दर्ता हुँदैछ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।
बेलुका साढे ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । नयाँ प्रधानमन्त्री चयनको लागि आइतबार बिहान ११ बजे मतदान हुनेछ । सभामुख ओनसरी घर्तीले शुक्रबार कार्यव्यवस्था परामर्श समिति र राजनीतिक दलका नेताहरुसंगको छलफलपछि नयाँ प्रधानमन्त्रीको प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।
भरतपुरमा रोकिएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद बैठक अवरोध गरिरहेको छ । एमालेले संसद अवरोध भइरहेका बेलामा प्रधानमन्त्रीको चुनावको प्रक्रिया अघि बढाउन नहुने बताउँदै आएको छ भने कांग्रेस–माओवादीले राष्ट्रपतिले बहुमतीय प्रक्रिया सुरु गर्न पत्र पठाइसकेको अवस्थामा संसदले त्यसलाई कार्यान्वयन नगर्नु राष्ट्रपतिकै अपमान हुने तर्क गर्ने गरेका छन् ।
यसैबिच कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि मनोनयन पत्र दर्ता गराउँदै छन । माओवादी केन्द्र लोकतान्त्रिक फोरम र केही साना दलको समर्थनमा उनले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने तयारी गरेका हुन ।
सभापति देउवाले मनोनयन दर्ता पछि संसदमा रहेका सबै दललाई प्रधानमन्त्रीमा आफुलाई समर्थन गर्न पत्र लेख्ने तयारी पनि गरेको उनी निकट कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।