१८ जेठ, काठमाडौं – काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा शहर’ अभियान थालिएको छ । महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा शहर’ अभियान सुरु गरेका हुन ।
बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका प्रमुख शाक्य र उपप्रमुख खड्गीले आज बूढानीलकण्ड नगरपालिका र काठमाडौं महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा अभियानको सुरुवात गरेका हुन ।
‘काठमाडौंलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागि मात्र होइन’, नगर प्रमुख शाक्यले भने ।
सोही अवसरमा उपप्रमुख खड्गीले शहर सफा गर्ने कामका लागि मात्र नभई महानगरका सम्पूर्ण कार्य गर्न नगरबासिन्दाको सहयोगको आवश्यक रहेको बताए ।
कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौं महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।