८ जेठ, विराटनगर मोरङमा मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु भएको छ ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत जेठ ३१ गतेदेखि हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा ६४० मतदाता शिक्षा कार्यक्रमका लागि स्वयम्सेविका जेठ ५ गतेदेखि नै खटिसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।
मतदातालाई मतदान गर्ने प्रक्रियाका साथै मतपत्र पल्टाउने विधि सिकाउनका लागि घरदैलोमा खटिएका हुन् । यस कार्यक्रममा खटिएका स्वयम्सेविकालाई प्रत्येक वडाका वडासचिवले सुपरिवेक्षण गर्नेछ र यसका साथै विभिन्न राजनीतिक दलका कार्यकर्ता सो टोलीका साथ मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।मतदाता कार्यक्रममा नखटिने कार्यकर्तालाई अविलम्ब हटाइने र काम गरेको भत्तासमेत रोक्का गरिने छन् । ती कार्यकर्तामाथि अनुगमन गर्नका लागि सुपरिवेक्षकको रुपमा रहेको वडा सचिवलाई समेत निर्देशन दिइसकिएको कार्यालयले जनाएको छ ।
प्रथम चरणको मतदानमा मतपत्र बदरको सङ्ख्या अत्यधिक देखिएकाले सो टोलीमा बढी सजग गराउनुका साथै मतदाता शिक्षा कार्यक्रमलाई सफल बनाउनका लागि राजनीतिक दललाई समेत अपिल गरिएको छ ।मुलुकमै सबैभन्दा बढी मतदाता रहेको मोरङमा छ लाख ५१ हजार मतपत्रका साथै एक हजार १०६ वटा ८५ लिटर नयाँ मतपेटिकासमेत प्राप्त भइसकेको बताइएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार ८ सय ७० मतदाता छन् ।
मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेका छन् ।