काठमाडौं , चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यस वर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एक चलचित्र पत्रकारलाई नगद ११ हजार १ सय ११ राशिसहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको हो । जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४ बाट सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।
संघले विगत ५ वर्षदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका एकजना चलचित्र पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । संघले यसअघि पत्रकार रामशरण दुलाल, मणिराज गौतम, प्रकाश दाहाल, श्रीराम दाहाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीसकेको छ । यसवर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल खड्का र कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मान गर्न लागिएको अध्यक्ष गौतमले बताए ।
खड्कालाई नगद ५ हजार रुपैयाँ राशिले दोसल्ला ओडाएर पुरस्कार प्रदान गरिने छ भने कलाकार सापकोटालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीनेछ । हेटौडा ५ मा रहेको रिगल रिसोर्टमा भब्य समारोहको विच सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ ।
पत्रकार खड्का टिम टेलिभिजनमा लामो समय देखी कार्यरत छन् भने उनी चलचित्र पत्रकार संघ मकवापनुरको कोषाध्यक्ष हुन् । कलाकार सापकोटा नेपालमा मात्र नभई विश्वभर हिन्दी चलचित्र बर्फी बाट चर्चामा आएका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र कुम्भकर्ण प्रदर्शनको लागि तयारीमा छ भने उनि अभिनित आधा दर्जन नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् ।संघले बर्षेनी कलासाहित्य र चलचित्र क्षत्रमा कलम चलाउने १ जना पत्रकार तथा मकवापुर बाट कलाकारिता क्षेत्रमा लागेका १ जना कलाकारलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।