६ जेठ, भक्तपुर – भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएका छन ।
गए राति सार्वजनिक भएको मतपरिणाम अनुसार २५ हजार ५ सय ६८ मत प्राप्त गर्दै सुनिल प्रजापति मेयरमा विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार ५ सय ३२ र एमालेका विष्णु सुवालले ४ हजार २ सय १० मत प्राप्त गरे । त्यसैगरि उपप्रमुख तर्फ नेमकिपा कै उम्मेदवार रजनी जोशीले २५ हजार ६ सय ५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गरेकी छिन ।
जोशीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार गंगालक्ष्मी अवालले ६ हजार ५ सय ६० मत र एमालेकी उम्मेदवार कृष्णमाया त्वायनावासुले ६ हजार ५ सय ८७ मत प्राप्त गरेका थिए । विगतमा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव, सांसद हुदै प्रजापति अहिले भक्तपुर नगरपालिकाको नगर प्रमुखमा विजयी भएका छन । ख्पव ईन्जिनियरिङ्ग कलेजको उपप्राचार्य पदबाट राजीनामा दिएर आएकी जोशी उपप्रमुख भए ।
त्यसैगरि भक्तपुर नगरपालिकाको वडा नं.१० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखाले २ हजार ११३ मत प्राप्त गरि विजयी भएकी हुन । उनकोका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र नेकपा एमालेका पूण्यराम घटुवले ३५० मत प्राप्त गरेका थिए ।
भक्तपुर नगरपालिकामा १० वटै वडामा नेपाल मजदूर किसान पार्टीले विजयी हासिल गरेको छ । कूल ५२ हजार ९३० मतदाता संख्या रहेको यस नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो ।