Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत

Sunday, April 30, 2017 National Power

१७ बैशाख, बुटवल – जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भए बमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुनेगरी पाठ्यक्रम स्वीकृत गरेको हो । नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण नेपालले बुद्धमावली क्षेत्र देवदहका लागिमात्र नभएर लुम्बिनीवासीकै लागि गौरवको विषय हुने बताए ।

नगरपालिकाले सिद्धिचरण भट्टराईको संयोजकत्वमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक स्थानीय पाठ्यक्रम बनाउन प्राज्ञ, स्थानीय शिक्षा प्रेमी र अन्य सरोकारवाला रहेको समिति गठन गरेको थियो । संयोजक भटराईले देश विदेशका कुराहरू जान्ने तर आफ्नै घर वरिपरिका महत्वपूर्ण स्थानीय सम्पदाको महत्व नबुझ्ने अवस्थाको अन्त्य गर्दै बौद्ध शिक्षाबाट चरित्रवान् नागरिक तयार गर्न धेरै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

समितिका सदस्य निर्मल ढुङ्गानाले पाठ्यक्रममात्र नभई लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राज्ञहरूको सहयोगमा पाठ्यपुस्तकसमेत तयार भई छपाइको प्रक्रियामा रहेकाले जेठको पहिलो सातादेखि कक्षा ६ मा पहिलो वर्ष लागू हुने र अर्को वर्ष कक्षा ७ मा लागू हुनेगरी तयारी भएको बताए ।केरवानी माविका प्राचार्य दुर्गादत्त शर्माले देवदहबाट सुरु भएको यो कार्यक्रमलाई सबै विद्यालयले उत्साहका साथ लागू गर्नुपर्ने बताए ।