Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न नागरिक तहबाट दबाब

Sunday, April 30, 2017 National Power

१७ बैशाख, पाल्पा – बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय हुन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्ने बताएका छन् ।

पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा निर्वाचन छिटो छरितो रूपमा गर्नुपर्ने बताएका हुन् ।कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य वसन्त शर्मा (कुशल)ले नागरिक समाजले स्थानीय तहको अधिकार र कर्तव्यका बारेमा मतदाता बुझाउन सकेको अवस्थामा निर्वाचनको महत्व नागरिक तहमा अझ बढ्ने बताए ।

नेकपा (एमाले)का केन्द्रीय लेखा विभाग सदस्य धनेन्द्रराज घिमिरेले स्थानीय तहको निर्वाचनमा दुई चरणमा भए पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न भएमा नागरिकका अधिकार सुनिश्चित हुने विचार व्यक्त गरे । रापप्राका जिल्ला अध्यक्ष डुवबहादुर कुँवरले सबै दल मिलेर स्थानीय निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए ।

नागरिक समाज पाल्पाका सचिव भेषराज सुवेदीले लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा गुज्रिरहेकाले स्थानीय निर्वाचनको विकल्प नै नभएको बताए । नेपाल नागरिक समाज, पाल्पाका पुष्कर रेग्मीले मतदाता शिक्षालाई निरन्तरता दिई मतदातालाई सचेत बनाउन सहयोग पुग्ने र सरकारलाई निर्वाचन गराउन दबाब दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री गङ्गा पौडेल, लालु राना, सुनिता शर्मा, कानुन व्यवसायी नारायण बस्याल, गीता शर्माले सरकारले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका विषयक कार्यपत्र पत्रकार तिलक पाठकले प्रस्तुत गरे थियो । स्थानीय निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न नागरिक तहबाट दबाब सिर्जना गर्नुपर्ने केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले बताए ।