८ बैशाख, काठमाडौं – सरकार र मधेस केन्द्रित दलबिचको छलफल सकारात्मक भएपनि बेलुकी फेरि बैठक बस्ने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको संविधान संशोधन विधेयक परिमार्जन भएमा चुनावमा सहभागी हुने संकेत गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेता लक्ष्मणलाल कर्णले सरकारले परिमार्जन सहित संशोधन गर्ने प्रतिबद्धता जनाए । तर अहिलेकै विधेयक स्वीकार्य नहुने उनीहरुले अडान दोहोर्याएका छन् । हिजो मात्रै पार्टी एकता गरेका मधेसी नेताहरुलाई प्रधानमन्त्रीले वार्तामा बोलाएको हो । वैठकमा प्रधानमन्त्री पुसष्पकमल दाहालले संशोधन विधेयकमा सहमति गरेर वैशाख ३१ गते हुने चुनावमा सहभागी हुन आह्वान गरेका थिए ।
चुनावभन्दा संविधान संशोधन मुख्य चासो भएको भन्दै मधेस केन्द्रित दलका नेताहरुले भने , सरकारले ल्याएको प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको चुनावमा सहमति जुटाउन सत्तारुढ दलको बैठक दिउँसो ३ बजे बस्नेछ । यस विषयमा एमालेसँग पनि कुरा हुने माओवादी नेता वर्षमान पुनले जानकारी दिए । बेलुकी ५ बजे सरकार र मधेसवादी दलबिच फेरि बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।