६ बैशाख, काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुर नजिकै क्रिस्चियन महासंघका कार्यालय सचिव सन्तोष खड्कामाथि गोली प्रहार भएको खुलासा भएको छ ।
सोमबार साँझ कार्यालयबाट घर फर्कने क्रममा खड्कामाथि गोली प्रहार भएको महानगरीय प्रहरी वृत सातदोवाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए । साँझ लगनखेल र सिडीओ कार्यालय बीचको भित्री सडक हुँदै मोटरसाईकलमा घर फर्कँदै गर्दा खड्का माथि गोली प्रहार भएको थियो ।खड्का उपचारको लागि पाटन अस्पतालमा पुगेपछि मात्रै घटनाबारे प्रहरीले थाहा पाएको थियो ।
गोली लागेसँगै ग्वार्खोस्थित क्रिस्ट मेडिकल कलेजमा एक्सरे गरेर हेर्दा गहिरो घाउ भएको र भित्र गोली अड्किएको कुरा खुलेपछि खड्का अप्रेशनका लागि पाटन अस्पतालमा भर्ना भएका थिए । क्रिस्चियन महासंघको कार्यालय सचिवको रुपमा कार्यरत खड्काको शरिरको कम्मर पछाडीबाट गोली हानेको खुलेको छ । काभ्रेको बनेपा स्थायी घर भएका खड्का लतिपुरको महालक्ष्मी स्थान बस्दै आएका थिए ।घट्ना कसले र किन गराएको भन्नेबारे हालसम्म खुल्न सकेको छैन । केही समय पहिला क्रिस्चिय महासंघको अध्यक्षलाई धर्म प्रचार गरेको भन्दै धम्की आएको खुलेको छ । मंगलबार राती नै ललितपुरको धोबिघाटमा रहेको एक इशाई चर्चमा आगजनी समेत भएको थियो ।