४ वैशाख, नेपालगन्ज – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको चुनावका केही प्रतिकुलता रहेको बताएको छ । प्रतिकुलताका बाबजुद चुनाव सफल हुने उनले बताए ।
गृहमन्त्री निधीले वैशाख ३१ गते तोकिएको स्थानीय तहका चुनावका लागि केही असन्तुष्टि, असहमति र प्रतिकुलताको अवस्था रहेको मध्यपश्चिम क्षेत्रीय सुरक्षा सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै बताए ।
स्थानीय तहको चुनावलाई लक्षित गरी आयोजना गरिएको क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी चारवटै सुरक्षा निकायका प्रमुख तथा मध्यपश्चिम विकास क्षेत्रका १५ जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री निधीले चुनाव पूर्व, चुनावको अवधी र चुनावपछि गरी तीन चरणको सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय बिच समन्वयात्मक भूमिकामा परिचालन हुने जानकारी दिए ।