Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सन्धि पुनरावाेलकन गर्न भारत सकारात्मक

Friday, April 7, 2017 National Power

२५ चैत, काठमाडौं – नेपाल–भारत सम्बन्धको सबै पक्ष अध्ययन गरेर प्रतिवेदन दिने म्यान्डेट पाएको प्रबुद्ध व्यक्ति समूहको तेस्रो बैठकमा नेपालले १९५० को सन्धिका चार धाराले नेपाललाई अप्ठ्यारो परेको धारणा राखेको छ । तर, सन्धि संशोधन गर्ने कि खारेज गरेर नयाँ सन्धि गर्र्ने भन्नेमा नेपालले स्पष्ट धारणा राखेको छैन । इपिजीको बिहीबारको बैठकमा भारतीय पक्षको पनि ठोस जवाफ आएन ।

‘सन्धि पुनरावलोकन गर्ने कि खारेज गर्ने भन्ने विषयमा छलफल हुन बाँकी छ । त्यसलाई समसामयिक बनाउन खोजिएको छ,’ ‘इपिजीको नेपालतर्फका संयोजक डा। भेषबहादुर थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘के गर्ने भन्ने छलफलका क्रममा अन्तिममा थाहा होला ।’

सन्धि असान्दर्भिक भएको भन्नेमा भारतीयहरू छलफल गर्न तयार रहेको र यसलाई सकारात्मक रूपमा लिनुपर्ने थापाले बताए । ‘पहिला कुरा राख्दा भारतीयहरू कानमा तेल हालेझैँ गरेर बस्थे,’ उनले भने, ‘अहिले भारतीयहरू पनि सिरियस छन् । कुरा सुन्न र छलफल गर्न तयार भएका छन् ।’

नेपालका तर्फबाट सदस्य नीलाम्बर आचार्यले बुधबारको बैठकमा सन्धिका असान्दर्भिक धारा भन्दै २, ५, ६ र ७ ले नेपाललाई अप्ठेरो पारेको बताएका थिए । इपिजी सचिवालय नारायणहिटीमा सञ्चारकर्मीसँग आचार्यले भने, ‘मैले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर प्रस्तुतीकरण गरेको छु ।’

संयोजक थापाका अनुसार १९५० को सन्धिमा पहिले र अहिलेको अवस्था फरक रहेको विषयमा भारतीय पक्षले पनि महसुस गरेको छ । ‘भारतीयहरूले पनि अहिले कुरा सुनेका छन् । किनभने दुवै देशका प्रशासनिक उच्च तहमा नै यसबारे परिमार्जन गर्ने सहमति भइसकेको छ,’ थापाले भने, ‘वार्ता सौहार्दपूर्ण भएको छ । हाम्रो कुरा भारत पक्षले सुनेका छन्, उनीहरूको कुरा पनि हामीले सुनेका छौँ ।’

तेस्रो बैठकमा १९५० को सन्धि, जलस्रोत, व्यापार तथा पारवहन, सीमावर्ती क्षेत्रमा देखिएका समस्या र सीमाको समग्र व्यवस्थापनबारे पनि कुराकानी भएको थापाले बताए । नेपाली पक्षले नेपालको अन्तराष्ट्रिय भूमिका विस्तार भएको, शान्तिस्थापक सेनादेखि अन्य अन्तर्राष्ट्रिय गतिविधिमा नेपालको संलग्नता बढेको, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य पनि बदलिएको भन्दै सन्धि–सम्झौताका असान्दर्भिक विषय हटाउनुपर्ने धारणा राखेको थापाको भनाइ थियो । ‘हामीले प्रस्तुत गरेका विषयमा के–के गर्ने, छलफलपछिका विषयलाई कुन स्वरूप दिने भन्नेमा अर्को बैठकमा कुराकानी होला,’ उनले भने ।

१५ जेठमा अर्को बैठक
इपिजीको चौथो बैठक भारत उत्तराखण्डको राजधानी देहरादुनमा १५ देखि १७ जेठसम्म आयोजना हुनेछ । भारतीय पक्षले सो बैठक आयोजना गर्ने नेपालतर्फका संयोजक डा। भेषबहादुर थापाले जानकारी दिए । यसअघि दोस्रो बैठक १८ र १९ असोजमा नयाँदिल्लीमा भएको थियो । पहिलो बैठक भने नेपालले २० र २१ असारमा काठमाडौंमा आयोजना गरेको थियो ।

नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि थियो । बैठकमा नेपालतर्फबाट डा। भेषबहादुर थापा, राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय तथा भारतबाट भगतसिंह कोसियारी, जयन्तप्रसाद, डा। बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी थिए ।