२३ चैत, काठमाडौँ – आउँदो स्थानीय तह निर्वाचनामा प्रत्येक घर पुगेर मतदातालाई सुसूचित गर्नका लागि २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने उद्देश्यले आज देशैभर एकसाथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
राज्यको पुनःसंरचनापछि पहिलोचोटी स्थानीय तहको निर्वाचन हुन लागेका कारण मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे मतदाता शिक्षाबारे कार्यकर्तालाई तालिम दिइनेछ ।
निर्वाचन आयोगले देशका ७५ जिल्लामा एकैसाथ यो तालिम सुरु गरेको हो । मतदाता शिक्षा स्वयंसेवकले तालिम पछि एक करोड ४० लाख ५४ हजार ४८२ मतदातालाई मतदाता शिक्षा सिकाउनुपर्ने जिम्मेवारी छ । गत संविधानसभाको तुलनामा यसपटक १९ लाख २१ ह्जार ८४९ मतदाता थपिएका छन् । एउटा मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ मतदाताका दरले एक महिनामा ६७० मतदातालाई भोट खसाल्ने तरिकाबारे घरघरमा पुगेर व्यावहारिक रुपमा शिक्षा दिनेछन् ।
मतपत्र छ आकारका छन् । यसपटक एउटा मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसहित सातजनालाई भोट खसाल्नुपर्नेछ । दलगत रुपमा भएका निर्वाचन चिह्न तेर्सो एकै लाइनमा रहेको हुन्छ । स्वतन्त्र उम्मेदवारले भने स्वतन्त्र समूहबाट आयोगले तोकेको चिह्न पाउँछन् ।
आयोगले जिल्लामा दर्ता भएको दलको आधारमा मतपत्रमा चिह्नहरु समावेश गरेको हो । काठमाडौँमा सबैभन्दा धेरै ४७ र मनाङमा सबैभन्दा थोरै छ दल स्थानीय तह निर्वाचनमा दर्ता भएका छन् ।देशभर करिब २१ हजार मतदान केन्द्र छन् । राज्य पुनःसंरचनापछि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७४४ स्थानीय तह निर्धारण गरिएको छ ।
आयोगले सोमबार ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृत नियुक्त गरेको छ । चैत २६ गतेसम्म ७५ जिल्लाकै मतदाता शिक्षा कार्यकर्तालाई तालिम प्रदान गरेर कार्यक्षेत्रमा खटाउने तयारी छ ।
काठमाडौँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले मङ्गलबारबाट ७५० मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवकलाई रत्नराज्य उच्च माध्यमिक विद्यालयमा मतदाता शिक्षा तालिम दिएको छ ।
तालिम शुभारम्भ गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले उम्मेदवार धेरै र मतपत्र पनि ठूलो हुने भएकाले एउटा मतदाताले एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई मतदान गर्न सिकाउनुपर्छ भन्नुभयो । आयोगका सहसचिव नवराज ढकालले संविधान र कानुनले स्थानीय तहमा ४० प्रतिशत महिला निर्वाचित हुने सुनिश्चित गरेको बताउनुभयो ।
यसपटक गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख÷उपप्रमुखमध्ये दलहरुले एकजना महिला उम्मेदवार उठाउनुपर्नेछ । वडामा एक दलितसहित दुई महिला निर्वाचित हुनेछन् ।पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् । सहभागीमध्ये झन्डै ९५ प्रतिशत महिला रहेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले दिनुभयो । तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइनेछ ।