२० चैत, सिन्धुपाल्चोक/कास्की – शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ ।
घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ ।
त्यसै गरी कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा शनिबार साँझ परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।घाँस बोकेर घर फर्कदै गर्दा बाटोमा चट्याङ लागेर १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका ले जनाएको छ ।