१५ चैत्र, राजविराज – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ गरेका छन् ।
आज बिहान १० बजेदेखि मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ गरेका छन् । घेराउका कारण कार्यालयको कामकाज हुन सकेको छैन । कार्यालय घेराउ कार्यक्रममा मोर्चा आवद्ध दलका केन्द्रीय तहका नेताहरू समेत सहभागी छन् । मोर्चाको कार्यक्रमलाई ध्यानमा राखी निर्वाचन कार्यालय वरपर ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । मोर्चाका कार्यकर्ता र प्रहरीबीच कुनै अप्रिय स्थिति नआओस् भन्दै जिल्ला प्रहरी कार्यालय ले उक्त स्थानमा सुरक्षा कमाण्ड सम्हालेको छ ।
मोर्चा कार्यकर्ताहरुले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै निर्वाचन कार्यालय घेराउ गरेको बताए । घेराउ कार्यक्रम आज साँझ ५ बजे सम्म रहने मधेसी मोर्चाले जनाएको छ ।