९ चैत, कञ्चनपुर –आनन्द बजारमा भएको झडपका क्रममा चौध दिनअघि हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ ।
कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्बास–८ आनन्द बजारमा झडप भएको थियो । त्यहाँको स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले हराएको पेस्तोल र म्यागजिन केही दिन भेटिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट हराएको पेस्तोल खोज्न छानबिन टोली गठन गरी खटाइएको थियो । प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पेस्तोल फेला पारेको हो ।
कल्भर्ट निर्माणका विषयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर पुनर्बास नगरपालिकाका गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए । सरकारले गौतमलाई सहिद घोषणा गर्नाका साथै रु १० लाख उनको परिवारलाई दिने घोषणा गरिसकेको छ ।