८ चैत, काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धमा परेको मुद्दामा सर्वोच्च आदालतले आज फैसला सुनाउँदै छ ।
सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, अनिलकुमार भट्टराई, ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि मंगलबार(आज) फैसला गर्ने जानकारी दिनुभयो ।
मुद्दामा सहन्यायाधीवक्ता टीकेन्द्र दाहाल र सरकारकातर्फबाट उपन्यायाधीवक्ता रेवती त्रिपाठीले बहस गर्नुभएको थियो ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यस्तै आफू वरियताको १ नम्बरमा रहेको भन्दै नवराज सिलवालले पनि रिट निवेदन दिनुभएको मा अदालतले अल्पकालीन आदेश दिएको थियो ।