९ फागुन, सिन्धुली – राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली बर्दिबास सडकखण्ड त्रिवेणीमा आइतबार रातिदेखि अवरुद्ध भएको छ । करिब ३० मिटर सडक भत्किएर सुनकोशी नदीमा खसेपछि यो सडक अवरुद्ध भएको हो । भीरको बाटो भत्किएकाले तत्कालै सडक खोल्न नसकिने स्थानीय प्रशासनले हामीलाई जानकारी गराएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी नायव निरीक्षक रामेश्वर राउतले दिएको जानकारी अनुसार सिन्धुलीको शीतलपाटी गाविस वडा नं ९ को त्रिवेणी भन्ने ठाउँमा सडक भत्किएको हो । आइतबार राति ११ बजेतिर पीच सडक भत्किएर सुनकोशी नदीमा झरेको थियो । त्यहाँ गाडी गुडिरहेको अवस्था नभएका कारण कुनै मानवीय क्षती हुन नपाएको सई राउतले बताए ।
तत्कालै सडक नखुल्ने, खुर्कोटबाट वैकल्पिक बाटो प्रयोग गर्न सकिने
तत्कालै सडकको मर्मत सम्भव नभएकाले एक दुई दिनमानै वैकल्पिक बाटो खुल्ने स्थानिय प्रहरी कार्यलयले जानकारी दिएकोछ । भत्किएकै ठाउँमा तत्कालै मर्मत सम्भव देखिँदैन त्यसैले हामी वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई वताईएको प्रहरी नायव निरीक्षक रामेश्वर राउतले वताए ।’
यसैवीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । हामीसँग कुरा गर्दै जिप्रका स्रोतले भन्यो ‘बर्दिबासतर्फबाट आएका गाडीहरु खुर्कोट छेउबाट रामेछापको मन्थली निस्केर दोलखा हुँदै काठमाडौं पुग्न सक्छन् । त्यसै गरी काठमाडौंबाट सिन्धुलीतर्फ हिँडिसकेका सवारी साधन पनि दोलखाबाट मन्थली हुँदै खुर्कोट नजिकबाट पास हुन सक्छन् ।’
काठमाडौं र तराई जोड्ने छोटो बाटोका रुपमा यो सडकको प्रयोग हुँदै आएको छ । जापान सरकारको सहयोगमा केही वर्षअघि मात्रै उक्त सडक निर्माण सम्पन्न भएको होे ।बाटो निर्माणका बेला दुई लेनको बन्न नदिने भारतले दबाव दिएको र साँघुरो बाटो बनेको बताइँदै आएको छ ।
सरकारले यो बाटोमा ठूला गाडीहरु नचलाउन र लाइट गाडीमात्रै सञ्चालन गर्न आग्रह गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय स्रोत भन्छ ‘हामीले बारम्बार लाइट गाडीहरुमात्रै चलाउन आग्रह ग¥यौं । तर, दशैंका बेलामा ठूला बसहरु चले । अरु बेलामा पनि ठूला सवारी साधन चल्ने गरेकाले सडकले थाम्न नसकेर भत्केको हो ।’
Photo : Deepak Shrestha