२८ माघ,बैतडी – बैतडीमा ट्रक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै ज्यान गएको बताईएको छ । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जानकारी दिएको छ । यस्तै, ट्रक चालक बैतडी श्रीकोट–४ का अन्दाजी २४ वर्षीय मोहनराज जोशी र श्रीकोट–४ का २१ वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् । घाइतेको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।
महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नंको ट्रक बिहीबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । बालुवा बोकेर सतबाँझतर्फ आइरहेको उक्त ट्रक सडकबाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।