१४ फागुन, काठमाडौं – यातायात व्यवस्था विभागले बुधबारदेखि गर्दैछ । यदि बुधबारबाट २० वर्ष पुराना सार्वजनिक सवारी सडकमा आए जफत गरिनेछ र सवारी धनिलाई जरिवाना पनि गराइनेछ ।
अब २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्नेछ ।
यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार फागुन १८ देखि २० वर्षे पुराना सवारीलाई कुनै पनि रुटमा चल्ने इजाजत दिइनेछैन । अहिले प्रत्येक ४-४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
नमाने कवाडी गरेको खर्च पनि असुलिने
२० वर्षे आयु नाघेका सवारीले फागुन १७ गतेसम्मका लागि मात्रै रुट इजाजत दिइएको छ । अब २० वर्ष आयु नाघेका कुनै पनि सवारीको करसमेत नबुझिने भएको छ ।
उनकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । यस्ता सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइएको उनले बताए ।
‘अब २० वर्ष पार गरेका सार्वजनिक सवारीलाई सडकमा आउन पाउने गरी कुनै पनि अनुमति दिइने छैन,’ पाण्डेले भने, ‘रुट इजाजत नभइ सवारीले सडकमा गुड्नै पाउँदैनन् । त्यसपछि व्यवसायीलाई यस्ता सवारी नहटाई सुखै हुनेछैन ।’
यदि यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिनेछ । र, स्क्रयााप गरिनेछ । कवाडी गर्दा लागेको शुल्क पनि गाडी धनिबाटै उठाइनेछ ।
२० वर्षे सार्वजनिक सवारी देशभरबाटै विस्थापन गर्ने निर्णय नयाँ भने होइन । सरकारले दुई वर्षअघि नै यो निर्णय गरेको थियो । मन्त्रिपरिषदको यो निर्णय ०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो ।
निर्णयमा २ वर्षभत्र २० वर्ष आयु पुगेका सबै सार्वजनिक सवारीलाई विस्थापन गरिसक्ने उल्लेख छ । र, यो अझै कार्यान्वयन हुन सकेको थिएन । अब भने सरकारले यसतर्फ काम अघि बढाएको छ ।