इंग्ल्यान्डविरुद्धको पहिलो टि – ट्वान्टी क्रिकेटमा घरेलु टोलि भारत पराजित भएको छ । बिहिबार कानपुरमा भएको पहिलो टि – ट्वान्टी क्रिकेटमा भारत इंग्ल्यान्डसंग ७ विकेटले पराजित भएको हो ।
ग्रीन पार्क क्रिकेट मैदानमा भारतले दिएको १४८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसंगै इंग्ल्यान्डले घरेलु टोलिबिरुद्धको तीन खेलको टि ट्वान्टी सिरिज १ – ० ले अग्रता बनाएको छ । दोस्रो टि – ट्वान्टी आगामी आइतबार नागपुरमा हुनेछ । भारत भ्रमणमा रहेको इंग्ल्यान्डले यसअघि घरेलु टोलीबिरुद्धको टेष्ट र एक दिवसीय सिरिज गुमाएको थियो ।
भारतले दिएको मध्यम लक्ष्य सहजै पुरा गर्ने क्रममा इंग्ल्यान्डका इयान मोर्गनले अर्धसतकीय पारी खेले । मोर्गनले ३८ बलको सामना गर्दै ५१ रन बनाए । यस्तै जोय रुटले अविजित ४६ रन बनाए । त्यस्तै इंग्ल्यान्डका साम विलिङसले २२ तथा जासन रोयले १९ रङ जोडे । भारतका युजभेन्द्र चाहलले दुइ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । भारतका लागि महेन्द्र सिहं धोनीले अविजित ३६ तथा सुरेश रैनाले ३४ रन बनाए । कप्तान विराट कोहलीले २९ रन जोड्दा युवराज सिहंले १२ रनको योगदान दिए । इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए ।