Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

खाेचेँ थाप्दै मधेशी माेर्चा, चुनावमा कुरा मिलेन

Tuesday, January 24, 2017 National Power

प्रधानमन्त्री निवास वालुवाटारमा अाज भएकाे सरकार र मधेशी माेर्चाकाे वैठक विना निश्कर्ष टुगिंएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमै चुनावको मिति घोषणा गर्ने भनि राखेको प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्विकार गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार साँझ बसेको कांग्रेस र माओवादीसँगको बैठकमा मोर्चाले संशोधन प्रस्ताव पारित नभई चुनावको मिति घोषणा हुन नसक्ने अडान राखेको हो ।
बैठकमा प्रधानमन्त्रीले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावको मिति घोषणा गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । तर मधेसी मोर्चाका नेताहरुले भने स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अधुरो रहेको, निर्वाचनका लागि आवश्यक पर्ने कानूनहरु पारित भइनसकेको तथा संशोधन प्रस्ताव पनि संसदमै रहेको अवस्थामा यी सबै विषयहरुको टुंगो लागेपछि मात्रै चुनावको मिति घोषणा हुन सक्ने धारणा राखेका थिए ।
बैठकपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पहिला संशोधन प्रस्ताव पारित हुनुपर्ने धारणा आफूहरुले बैठकमा राखेको बताए । उनले मधेसी मोर्चाको माग भनेको संविधान संशोधन रहेको भन्दै त्यो माग पूरा नभई चुनावको मिति घोषणा हुन नसक्ने तर्क गरे ।
यस्तै कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीले आजको बैठकमा आफूहरु संविधान संशोधन गर्न प्रतिबद्ध रहेको र संशोधन प्रक्रियामै रहेको बेला चुनावको मिति घोषणा गरेर अघि बढ्नुपर्ने र त्यसमा समर्थन जनाउन मोर्चालाई आग्रह गरेको बताए । तर पहिला मोर्चाले स्थानीय तहको वा निकायको चुनाव गर्ने भन्नेमा कुनै निक्र्योल नभएको तथा संशोधन पनि प्रक्रियामा रहेकाले यी विषयलाई टुंग्याएर मात्रै चुनावतर्फ जान सकिने अडान राखेको बताए ।
सरकारले निर्वाचनसम्बन्धी विधेयक पारित गराएर माघ १५ भित्रै आगामी जेठ पहिलोसाताभित्र निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारी गरिरहेको बेला मोर्चाले पहिला संशोधन पारित हुनुपर्ने सर्त अघि सारेको हो ।
बैठक पछि तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले पनि संशोधन पारित र आयोगको प्रतिवेदन नसच्चिएसम्म चुनाव हुन नसक्ने प्रतिक्रिया दिए ।
आजको बैठकमा काँग्रेस नेता एवम् उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि, नेता डा. रामशरण महत लगायतको उपस्थिति रहेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टी कामको शिलशिलामा नेपालगंज रहेकाले उपस्थित भएनन् । त्यसै गरी बैठकमा माओवादी केन्द्रका रामबहादुर थापा सहितका नेताहरु सहभागी थिए भने मधेशी मोर्चाका पनि शिर्ष नेताहरु सहभागी भए ।