Friday 27th November 2020

    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

एक पटक हैन पटक पटक काल बन्छ रजश्वला

Monday, January 23, 2017 National Power


सुदुर पश्चिम विशेष,

महिलाहरु नछुने भएको भनेर बार्ने चलन त प्राय हिन्दु संस्कारमा गाभीएका सबै समुदायमा प्रचलनमा पाउछौँ ।त्यो समयमा महिलाहरुको शरीरबाट रक्तश्राव हुने गर्दछ ।  नियमित रक्तश्रावका कारण महिला धेरै कमजोर, आलश्य र थकान महसुस गर्ने गर्दछिन् । मासिक श्रावमा भैरहने रक्तश्रावले गर्दा महिलाहरु कमजोर भैरहेका हुन्छन् ।  महिनावारी भएको समयमा महिलाहरुलाई सबै भन्दा धेरै ढाडस र स्याहार सुसारको आवश्यकता पर्दछ ।  उनिहरुलाई मिठो ,मसिनो तथा तागतिलो खानेकुराहरुको आवश्यकता पर्दछ । गह्रुङ्गो भारि उचाल्ने काम,  धेरै दौड्ने तथा आफ्नो शरीरलाई लोडपर्ने काम गर्नु हुदैन ।


महिनावारी नियमित प्रकृया हो नराम्रो कुरा होईन ।  महिला महिनाबारीको समयमा सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ् । सरसफाईमा लापरवाही गरेमा सँक्रमण  हुन सक्दछ ।  सामान्य देखी  जटिल किसिमका रोगहरुले आक्रमण गर्न सक्छन् ।  चिकित्सकहरु पनि महिनाबारी भएकाबेला  विशेष ध्यानदिन आग्रह गर्दछन् ।  महिनावारी एक प्राकृतिक प्रकृया हो  । यहि विषयलाई मुद्धा बनाएर महिलाहरुलाई गरिने व्यवहारले हाम्रो समाजमा हैरानिको सिर्जना गरेको छ ।  जति धेरै विकास र समृद्धि तिर हाम्रो समाज लाग्ने भनेर विगुल फुकियो त्यति धेरै  समाजमा जकडिएका यस्ता कुरुतीहरुको वर्चश्व देखा पर्न थालेको छ । यसैको जल्दोबल्दो उदाहरण बन्न पुगेको छ सुदुरपश्चिम । यो ठाउँ जति राम्ररी प्रकृतिले सजाएको छ त्यति नराम्ररी यहाँका परम्परागत  कुरितीहरुले गन्ध फैलाएको छ । जातजाति ,धर्म,वर्ण ,वर्ग हरेक क्षेत्रमा विभेद त छ नै ।  पछिल्ला दिनहरुमा सबै भन्दा हाईलाईटमा आएको भनेको छाउपडि प्रथानै प्रमुख छ । यहाँ प्राय सबै जिल्लाहरुमा यो प्रथा कायम छ  । यहाँ महिनाबारी मान्ने र बार्ने गरिन्छ तर महिलालाई मानवताकै हिसावमा राखेको कुरा पनि देखेका छैनाँैँ ।यसै ठाउँमा जातकै आधारमा पनि महिनावारी को विभेद पनि गरिन्छ ।

दलित भन्दा बाहुन क्षेत्रीमा , ठकुरीमा अझै कट्टर मान्ने गर्छन् । महिनावारी भएको समयमा यहाँका महिलाहरुका लागि एउटा मृत्यु पार गर्नु जस्तै हुने गर्दछ् । जब महिला महिनावारी हुन्छिन् तव घर भन्दा पर कम्तिमा एक किलोमिटर टाढा खेतको छेउमा बनाएको झुपडिको बास बस्छिन् ।  जुन झुपडिमा भित्र छिर्ने एक सानो झ्याल जस्तो ढोका बाहेक अन्त कतै हावा छिर्ने ठाउँ पनि हुदैन ।  त्यहाँ न बोल्ने साथी हुन्छन् न  त भोक लागेको समयमा खाने कुरा,न त आरामको निन्द्रामा सुत्न नै सकिन्छ । ओछ्याउने परालको गुन्द्रि र ओढ्ने पातलो तौलिया बाहेक अरु केहि पाईदैन । महिलाले करिव ७ दिन सम्म त्यसै झुपडिमा विताउने गर्छिन् । हिउदको तुसारो  होस वा वर्षादको झरी अथवा गर्मीयामको टाउको पगाल्ने गर्मीनै किन नहोस उसले हरेक समस्याहरु सँग लडेर ति दिनहरु विताउछे । हरेक महिनामा अथवा २८ दिनमा भईरहने नियमित रक्तश्रावकै कारण महिला छाउगोठमा पस्नै पर्ने हुन्छ  ।

त्यसैको फलस्वरुप महिला तातो खोज्न आगोबालेकै कारण निसास्सियर ज्यान गुमाएका घटना , वर्षादको दर्कने झरी सर्प र विच्छिको टोकाईबाट ज्यान गुमाएका घटना , एक्लै महिला छाउगोठमा सुत्दा बलत्कृत भएका घटना र जँगली जानवरको आक्रमणबाट ज्यान गुमाएका घटनाहरु हिजो आज पल पल सुन्छौँ देख्छौँ र भोगेका पनि छौँ  । यस्तै मानसिकता रहिरहेमा भोली पनि यस्ता घटना निर्मुल हुने कुरा कल्पनामा मात्रै सिमीत नरहला भन्न सकिदैन ।  एक पटक हैन पटक पटक महिलाको काल महिनावारी भएको छ ।  सुदुरपश्चिमकै लागि भनेर थुप्रै आवाजहरु उठे ¥यालि निस्किए ।  ठुला ठुला होटेल गोष्ठि सेमिनारहरुमा छाउपडि निर्मुल पार्ने भनेर ठुला ठुला भाषण गरिए । गाउँ गाउँमा जनचेतनामुलक कार्यक्रम पनि गरिए ।  पक्कै हो यो सबै कुरा गरेकै हो यसै ठाउँका नेताहरुले उच्च ओहदामा पुगेका महिलाहरुले पनि मान्नु हुदैन गोठमा बस्नु हुदैन भने  ।


विभिन्न सँघ संस्थाहरुले पनि छाउपडि सम्बन्धी कैयौँ कार्यक्रमहरु सञ्चालन गरे र गर्दै छन् पनि । छाउपडि गोठ बनाउनु हुदैन भन्दै धेरै पहल गरे । दिनभरि छाउगोठ भत्काईए  । हो गरिएकैहुन् हामिले प्रत्यक्ष देखेका कुरा हुन  । तर छाउपडि गोठमा ज्यान गुमाउने मध्य उदाहरणीय जिल्ला बन्न पुगेको छ आज  सुदुर पश्चिमको अछाम जिल्ला । जहाँ वर्षैै पिच्छे अल्पआयुमै  महिला तथा किशोरीहरु ज्यान गुमाई रहेका छन्  । नेपाल सरकारबाट पनि पहल नभएको होईन भन्न मिल्दैन ।  वि.सँ २०६२ सालमा सर्वोच्च अदालतले समाजका यस्ताकुरा कुरिती घोषणा गरि यसको उन्मुलन गर्न सरकारलाई निर्दैशन समेत दिएको थियो । त्यसपछि २०६४ सालमा निर्दैशिका समेत बनेको छ । तर के त्यो निर्देशिका अछामका जनताको कानमा परेको छ त ? के निर्दैशिकाले भनेको कुरा मान्दैछन त ? महिला विकास कार्यालय अछामकी कार्यालय प्रमुख भगवती अर्याल “ छाउ हुनु प्राकृतिक प्रकृया हो  यो नराम्रो होईन भन्दै महिला किशोरी र बृद्धहरु सबैलाई राखेर जनचेजता मुलक कार्यक्रम धेरै चलायौँ तर अझै निर्मुल गर्न सकिराखेका छैनौँ । यसको जिम्मेवार नेपाल सरकार नभई स्वयम् जनता हुन् । ति समुदाय हुन जो दिनभरी भत्काएका गोठ रातभरि लागेर बनाउने गर्दछन् । उनिहरुले आफ्नै नैतिकताले मनन  गर्नुपर्ने कुरा हो नि ” भन्छिन् ।

अछाममा छाउपडि गोठमुक्त गाविस घोषण अभियान चले । नेपाल सरकार विभिन्न संघ संस्था हरेक व्यक्ति  र संस्थाको ध्यान सुदुरपश्चिम पुग्यो । सुदुरपश्चिमको  पनि विशेष त अछाम पुग्यो  । कुरिती कुसंस्कार भनेर विगुल फुकियो र अछाकको गाज्रा गाविसलाई सरोकारवालाको सहभागितामा वि सं २०७२ साल असोज ९ गते छाउपडि गोठमुक्त गाविस घोषणा समेत गरियो  । त्यो बेला गाउँका सबै महिला, किशोरी र बृद्धहरु समेत एक जुट भएका थिए । त्यो आवाज जो अव देखि हामी छाउगोठमा बस्ने छैनौ भन्दै प्रतिवद्धता जनाएको आवाज थियो । त्यसै गाविसको आवाज जसले अवदेखि कुरुती मान्ने छैनौ भन्दै दन्केको आगो एक वर्ष नपुग्दै सेलायो सायद, त्यसैको परिणाम थियो २०७३ पौष २ गतेको घटना । पौष २ गते गाज्रा गाविसकै रोशनी तिरुवा जम्मा १५ वर्ष कि  थिईन जसले छाउगोठमै ज्यान गुमाउनु पर्यो । उनि हिँउदको कठ्याङग्रीने जाडोलाई छल्न छाउगोठमा आगोवालेर सुतेकि थिईन  । त्यसैमा निसास्सीएर ज्यान गुमाईन् । यो दर्दनाक कथा कसले सुन्यो आखिर को थिए छाउगोठमुक्त गाविस घोषणा गर्ने मान्छे ? कहाँ गए  ति किशोरी, महिला जसले प्रतिवद्धता गरेका थिए ? के एक वर्षमै बिर्सेर गए त ?  यति मात्रै हैन रोशनी वितेको एक महिना अगाडी पनि सोहि प्रकृतिको घटना अछामकै तिमल्सैन गाविसमा भएको थियो । तिमल्सैन गा.वि.स कि २१ वर्षिया डम्बरा उपाध्यायको पनि छाउगोठमै ज्यान गएको थियो ।

छाउ हुदा घर देखि टाढा मात्रै हैन  दुध दहि, ध्यु खान नहुने, बोट विरुवा छुन नहुने, देविदेउता को मन्दिर भएको बाटो हिड्न नहुने , आफुभन्दा ठुलामान्छेलाई छुन नहुने लगाएतका अन्धविश्वासले गहिरो जरा गाडेको छ । त्यति मात्रै नभएर  महिनावारी भएको बेला शिक्षीका होस वा विद्यार्थी किशोरी विद्यालयको प्राङ्गणमा मन्दिर भए बिद्यालयसमेत जान नहुने भन्दै शिक्षाबाट समेत बन्चित भएका छन् ।  वितेका दश वर्षको अवधिमा अछाम जिल्लामा मात्रै १० जना महिला तथा किशोरीहरुले छाउगोठमै ज्यान गुमाई सकेका छन् । छाउपडि गोठमै ज्यान गुमाउने र केहि समय सरोकारवाला तात्ने गरे पनि पछि सेलाउने गरेको पाईन्छ ।

अछामका ३१ओटा गा.वि.स छाउगोठमुक्त गाविस घोषणा गरिए पनि भित्र भित्रै छाउगोठमै बस्ने गरेका कारण यो प्रथाको अन्त्य जटिल बन्दै गईरहेको छ । सामाजिक रुपमा जरा गाडेर बसेको यस्तो प्रथाको अन्त्य गर्न समाजका सबै सरोकारवाला एकजुट हुनै पर्छ । देखावटीरुपमा चर्का नारा लगाउने भन्दापनि आत्मै देखि लाग्नुपर्ने देखिन्छ । महिनावारी भएकाबेला महिला घरमा बस्नै नमान्ने कारण पनि छन् । घरमा कुनै अन्य कारणवस केहि घटना भएमा महिनावारी घरमा राखेर भयो भन्ने अन्धविश्वासका कारणले पनि महिला त्योे आरोप सहन नसकेर  पनि छाउगोठमै फर्किन बाध्यछन् । यस्ता भ्रम चिर्दै समुदायलाई सचेत पार्ने काममा ढिलाई गर्न नहुने टट्कारो आवश्यकता देखिन्छ ।

कमला जोशी
एसोसियटेड सम्पादक
पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको लागी
नेशनल पावर न्यूज डट कम